Thaha

Saturday 21 September - 11:47 pm NST

कांग्रेसको सभापतिमा स्पष्ट बहुमत आएन, फेरी चुनाव हुने,  पौडेल र देउवाबिच प्रतिस्पर्धा


काठमण्डौं, २४ फागुन । 

नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तरगत हिजो भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि आज फेरि चुनाव हुने भएको छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार आज दिउँसो दुई बजेदेखि बेलुकी ५ बजेसम्म सभापतिका लागि निर्वाचन हुनेछ । सभापतिका तीन जना उम्मेदवार मध्य कसैले पनि स्पष्ट बहुमत आर्थत ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जना उम्मेदवारबीच आज प्रतिस्पर्धा हुन लागेको हो । अब भने धेरै मत ल्याउने उम्मेदवार निर्वाचित हुने काँग्रेसको विधानमा उल्लेख छ ।

बिहान ५ बजे सकिएको मतगणना अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई बहुमत ल्याउनका लागि जम्मा ११ भोट कमि भएको छ । जित्नका लागि १ हजार ५ सय ७५ मत ल्याउनु आवश्यक थियो । कुल ३ हजार १ सय ४८  मत खसेकोमा देउवाले १ हजार ५ सय ६४ मत ल्याउनु भयो भने सभापतिका अर्का उम्मेद्वार रामचन्द्र पौडेलले १ हजार १ सय ६० मत प्राप्त गर्नुभयो । त्यस्तै सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले ३ सय २४ मत प्राप्त गर्नुभयो । १ सय मत बदर भएको छ । बदर मत मध्य ६० मत देउवाकै बदर भेटिएको नेताहरुले बताएका छन । काठमाडौंको राष्टिय सभागृहमा हिजो बेलुकी  मतदान सकिएपनि  विवादका कारण गएराती एकबजेदेखि मात्र गणना थालिएको थियो । तीन पदाधिकारी सहित ६४ सदस्यीय केन्द्रीय समितिका लागि ३ सय ११ जना चुनावी मैदानमा छन । 

 


यसैबीच बिहान मतगणनास्थलमा देउवा र पौडेल पक्षीय नेताबीच झडप भएको छ । कम मतान्तरका कारण परिणाम नआएको भन्दै देउवा पक्षियनेताले फेरि मतगणना गर्न माग गरेपछि झडप भएको थियो । विवादपछि  ३ नम्बर बुथका देउवा निकट प्रतिनिधि सुवास पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले दुवै पक्षले सभापतिका प्रतिस्पर्धी रहेका कृष्णप्रसाद सिटौलालाई आफ्नो पक्षमा पार्न लागि परेका छन । देउवा र पौडेल दुवैले आफू निकट नेतालाई सिटौलाको समर्थनका लागि खटाएका छन ।